पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले, समितिलाई आफू अनुकूल आफ्नो स्वार्थ अनुकूल बनाउन नहुने धारणा राखेका छन् ।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा प्राप्त उजुरीहरूका बारेमा भएको छलफलमा उनले, समितिलाई आफू र आफ्नो स्वार्थ अनुकूल बनाउन नहुने भन्दै पपुलिजममा विश्वास गर्ने नभएर मूल काममा केन्द्रित भएर अगाडि बढ्ने कुरा प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताए ।
उनले भने, ‘समितिलाई आफू अनुकूल आफ्नो स्वार्थ अनुकूल तल पार्ने कोसिसहरू पनि हुन्छन् । त्यसैले यस कुरामा हामी सजक हुनुपर्छ । धेरै पपुलिजममा विश्वास गर्ने मात्र नभएर हाम्रो मूल काममा केन्द्रित भएर अगाडि बढ्न कुरा हाम्रो प्राथमिकतामा राख्नुपर्छ ।’
त्यस्तै, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले समितिमा आएका उजुरीहरूको छलफलमा एकदमै ढिलाइ हुने गरेको भन्दै आएका उजुरीहरू कसरी हुन्छ छिटो छलफलमा ल्याउन आवश्यक रहेको बताइन् ।
उनले भनिन्, ‘यसपटक अलि ढिला भएको हो कि भन्ने महसुस भयो । तर आगामी दिनमा आएका उजुरीहरू कसरी हुन्छ छिट्टै नै छलफलमा ल्याउनुपर्छ । यो ढिलो हुँदा मैले पनि केही गुनासोहरू सुनी राख्नु परेको छ । त्यसैले छिटो गर्न आवश्यक छ ।’