तेह्रथुममा पहिचान पक्षधरले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएका छन्। तेह्रथुमको बसन्तपुरबाट म्यालुङ जाने क्रममा बुधबार बिहान जिरिखिम्तीमा कालो झण्डा देखाएका हुन्।

प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो।

नेताहरूको यात्रामा अवरोध नगर्ने सहमति गरेको थियो। तर, बुधबार मुख्यमन्त्री तेह्रथुमको म्याङलुङ जाने क्रममा पुनः कालो झण्डा देखाएका हुन्।

मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच सामान्य धकेलाधकेल भएको थियो। पहिचान पक्षधरले पहिचानको आधारमा नाम राख्न माग गर्दै मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन गरे।

१७ फागुन २०७९ मा हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेशको नाम कोशी राखिएको थियो। प्रदेशसभामा मतदान गर्दा ९३ सांसद मध्ये ८२ सांसदले कोशीको पक्षमा मतदान गरेका थिए। प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छ।