कैलालीमा अचेत अवस्थामा भेटिएका २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका-५ बस्ने ५१ वर्षीय सागर विक र अर्का एकजनाको भने परिचय नखुलेको प्रहरीले जनाएको छ।

दुवैजना मंगलबार लम्कीचुहा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अचेत अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार विकलाई स्थानीय सडकखण्ड र परिचय नखुलेका अर्का पुरूषलाई लम्कीचुहा नगरपालिका-३ को रानीजमराकुलरिया सिचाइँ आयोजनाको नहरमा अचेत फेला परेका हुन्।

उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुवै मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ।