हुलाकी सडक अन्तर्गत पर्ने मोरङको रंगेली क्षेत्रमा स्थानीय किसानले सार्वजनिक सडकलाई अन्नबाली स्याहार्ने ठाउँका रूपमा प्रयोग गरिरहेका छन्। विशेष गरी धान मकै भण्डार गर्ने समयमा उनीहरूले हुलाकी सडकलाई बिस्कुन सुकाउने खलोका रुपमा प्रयोग गदै आएका छन्।

स्थानीयले अटेरी गरी घरमा आँगन प्रशस्तै भएपनि सार्वजनिक सडकमा अन्नबाली सुकाउने कार्य गदै आएकाले दुर्घटनाको जोखिम बढिरहेको छ। ‘चिप्लिने भएकाले सवारीले आफ्नो गति गुमाउन सक्ने भएकाले दुर्घटनाको खतरा पनि उत्तिकै हुन्छ’ ट्राफिक प्रहरीको भनाइ छ।

रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसार न्यौपानेले नगर क्षेत्रमा पर्ने कालोपत्रे सडकमा बिस्कुन सुकाएर दुर्घटना बढेपछि हटाउने अभियान सुरु गरेको बताए। पालिकाको आँखा छलेर मकै, धान जस्ता अन्नबाली सुकाउने काम नरोकिएको न्यौपानेको भनाइ छ। सडकमा बिस्कुन सुकाउन नहुने जानकारी भएपनि कतिपय स्थानीयले अटेरी गरेका कारण समस्या हुँदै आएको छ।