सुनसरीका नेकपा एमाले अध्यक्ष निलम खनालको उपचारका लागि भारतको हैदराबाद लैजाने क्रममा निधन भएको छ। 

लामो समयदेखि प्याङ्क्रियाजसम्बन्धी रोगका कारण बिरामी परेका खनाल १५ दिनअघि मात्रै एमाले सुनसरीको अध्यक्षमा निर्वाचित भएका थिए। 

अध्यक्ष खनाललाई परिवारका सदस्यहरूले उपचारका लागि हैदरावाद लैजाने क्रममा तेलंगना राज्यको कागजनगर पुगेपछि रेलभित्र निधन भएको एमाले सुनसरीका सचिव राम कोइरालाले जानकारी दिए।

खनाल जेठ ५ देखि ७ सम्म आयोजित एमाले सुनसरीको आठौं जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवार बनेर प्रतिस्पर्धामा उत्रिएका थिए। उनले अध्यक्षका अर्का उम्मेदवार खेमराज पोखरेललाई ९६ मतले पराजित गरेका थिए। खनालले ३८३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका थिए। पोखरेलले २ सय ८७ मत मात्र ल्याएका थिए।

बिरामी अवस्थामै जिल्ला अधिवेशनमा सहभागी भएका खनाल अध्यक्षमा निर्वाचित भएपछि झन बिरामी परेका थिए। उनलाई उपचारका क्रममा मंगलबार उपचारका लागि हैदरावाद लगिएको थियो। यसअघि पनि उनको उपचार हैदराबादमै हुँदै आएको जनाइएको छ। एमाले सुनसरीको अध्यक्षमा निर्वाचित हुनुअघि खनाल उपाध्यक्ष थिए। उनी यसअघि सुनसरीकै बराहक्षेत्र नगरपालिकाको मेयर पनि हुन्।