राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी प्रतिकार्य कार्ययोजना २०८१’ सार्वजनिक गरेको छ।
प्राधिकरणले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको योजनाअनुसार मनसुन सुरुदेखि अन्त्य नहुँदासम्म राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रमा नियमित कमान्ड पोस्टमा रहेर काम गर्ने जनाएको छ।
गत सोमबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित प्राधिकरणको कार्यकारी समिति बैठकले उक्त विपद् कार्ययोजना पारित गरेको थियो।
प्राधिकरणले यस वर्ष वर्षामा १८ लाख एक हजार मानिस र चार लाख हजार घर प्रभावित हुने अनुमान गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले साप्ताहिक, तीन दिन र एक दिन अगाडिको मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर जोखिम आकलन गरी पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी कार्यान्वयन गरिने बताए।
उनका अनुसार प्राधिकरणले विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी काम गर्नेछ। उनले भने, ‘हामी मौसमबारे दैनिक, साप्ताहिक र मासिक पूर्वानुमानका आधारमा पूर्वतयारी गर्नेगरी अगाडि बढेका छौं। हामीले वर्षभरि गर्नेकामहरु उपकरण किन्नेदेखि लिएर तालिम दिने कामहर वर्षभरि नै गर्छौं। कमजोर भूभागमा, जहाँ बढी पानी पर्यो, त्यहाँ बढी पहिरो जान सक्छ। खासगरी पूर्वी पहाडमा यस्ता घटनाहरु हुँदै आएका छन्। यसै आधारमा हाम्रो कार्ययोजना केन्द्रित छ।’