एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन।
ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन नसकेको हो। गतराति वर्षाले मैदान भिजेको थियो। प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको छ।
समूह ‘ए’मा रहेको नेपालले यसअघि खेलेको तीन वटै खेलमा जित हात पारेको छ। नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेट, दोस्रो खेलमा कतारलाई ३२ रन र तेस्रो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो।
आजको खेलमा साउदी अरेबिया हराउँदै नेपाल आफ्नो अपराजित यात्रालाई कायमै राख्ने दाउमा छ। साउदी अरेबियाले समान तीन खेलमा एकमा जित तथा दुई खेलमा हार बेहोरेको छ। यसअघि मलेसियासँग १२ रनले पराजित साउदीले हङकङलाई ५५ रनले हराएको थियो भने कतारसँग १५ रनले पराजित भएको थियो।




















