झापाको मेचीनगरमा दुबै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ।

मेचीनगर नगरपालिका–१२ स्थित कालीका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो।

स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो ।

वन प्रमुख राईका अनुसार हात्तीको अवस्था हेर्दा हात्तीको मृत्यु भएको अन्दाजी ३० घण्टा भएको छ। उहाँले घटनाको विस्तृत विवरण पोस्टमार्टम गरेपछि मात्र खुल्ने बताउनुभयो ।

मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरी र वन टोली नजिकै पुग्न नसकेको बताइएको छ।