संयुक्त अरब इमिरेट्स (युएई) का अबुधाबी, दुबई, अल ऐनलगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ।

मंगलबारदेखि सडक, रेल र उडान प्रभावित भएका छन्। यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन्। मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ।

बहराइन, कतार र साउदी अरबमा भारी वर्षाका कारण पनि अवस्था खराब छ। ओमानमा भारी वर्षाका कारण १८ जनाको मृत्यु भएको छ।

खाडी मुलुकमा मौसम बदली हुनुको मुख्य कारण दक्षिण–पश्चिमबाट बनेको न्यून चापीय प्रणाली हो। राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनसीएम) ले २ दिन अघि युएई र साउदी अरबमा भारी वर्षा हुने भविष्यवाणी गरेको थियो।

दुबई, अबुधाबी र शारजाहमा अझै पानीसँगै असिना पनि पर्न सक्ने युएईको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ।

भारी वर्षा पछिको बाढीले सबैभन्दा धेरै दुबईको ट्राफिकमा असर गरेको देखिएको छ। सडक यातायातदेखि हवाई यातायातमा समेत समेत अवरोध उत्पन्न भएको छ। दुबईका विमानस्थल पानीमा डुबेका छन्। कयौँ उडान रद्द भएका छन्।