सोमबार दिउँसो काठमाडौँको टुँडिखेलमा माघी मनाउन गएकाहरु बीच भागदौडमा परेर घाइते भएका १६ मध्ये १५ जना उपचारपछि घर फर्किएका छन् भने एक जनाको वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा अहिले पनि उपचार भइरहेको छ।
टुँडिखेलमा माघे सङ्क्रान्तिका अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सर्व-साधारणको अत्यधिक भीडका कारण चेपिएर १६ जना घाइते हुन पुगेका १५ जना उपचारपछि घर फर्किएका काठमाडौँ जिल्ला प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
सोमबार दिउँसो टुँडिखेलमा ठूलो सङ्ख्यामा थारू र मगर समुदायको भेलामा अत्यधिक भीड हुँदा १६ जना घाइते भएकामा उचारपछि १५ जना ‘डिस्चार्ज’ भएका छन्। एकजना उदयपुर रौतामाई गाउँपालिका–८ घर भई हाल काठमाडौँ मनमैजु बस्ने १४ वर्षीया करिश्मा मगरको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
भागदौडमा घाइते हुनेमा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी र १६ वर्षीया अनिसा केसी, २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मीना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल र १४ वर्षीया करिश्मा मगर रहेका ढुङ्गेलले बताउनुभयो । महोत्सवमा पस्ने र निस्कनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएका थिए ।