भोजपुरको सबैभन्दा होचो स्थानमा रहेको प्रसिद्ध धार्मिकस्थल माइबेनी ओझेलमा परेको छ । धार्मिक महत्व बोकेको यो पर्यटकीयस्थल प्रचारप्रसार अभावले ओझेलमा परेको हो ।
समुद्री सतहबाट एक सय ५३ मिटर उचाइमा रहेको यो स्थान हतुवागढी–९ हसनपुरमा रहेको छ । दूधकोशी र अरुण नदीको सङ्गमस्थलमा रहेको माइबेनीमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
दशक अघिसम्म यहाँ भव्य मेला लाग्ने गरेको भए पनि पछिल्लो समय मेला लाग्न छाडेको छ । माइबेनीमा कात्तिक पूर्णिमा र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्ने गरेकोले दर्शन गर्न तथा मेला भर्न भोजपुुर, उदयपुर, धनकुटालगायत देशका विभिन्न ठाउँबाट भक्तजन आउने गरेका छन्।
माइबेनीबाट किरातको आस्थाको केन्द्र खुवालुङ, अरुण, दूधकोशी र तमोर नदीको सङ्गमस्थल त्रिवेनी तथा बराहक्षेत्र नजिकै पर्ने भएकाले यसको बृहत्तर विकासमा जोड दिइएको छ।
यस क्षेत्रलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने योजना रहेको छ । हिउँदको समयमा अरुण नदीमा जेटबोट चल्ने भएकाले यहाँसम्म पुग्न सहज भए पनि वर्षातको समयमा भने आवतजावतमा समस्या छ।
यसको नजिकै दूधकोशी पारि उदयपुरको बेललका नगरपालिका–७ र अरुण नदीपारि धनकुटाको सहिदभूमि–१ पर्छ । यो तीन जिल्लाको सङ्गमस्थलका रुपमा रहेको छ ।