इलाममा एकसाथ चिया र अलैँचीको अनुसन्धानका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको छ। चिया र अलैँचीको उर्वरभूमि इलाममा उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने गरी यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो।
इलाम नगरपालिका–१ साँखेजुङका तीनजना दाहाल बन्धुहरूले यसका लागि निःशुल्क जग्गादान गर्नुभएको छ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो।
इलाममा चिया उत्पादन हुन थालेको करिब एक सय ६० वर्षपछि चिया अनुसन्धानका लागि केन्द्र स्थापना हुने भएको हो । जसका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ ।
जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु भएको छ। यसले जिल्लाका किसानमा खुसी छाएको छ। पहिलो चरणमा भवन निर्माणका लागि १३ रोपनी क्षेत्रफललाई सम्याइएको छ ।
सो स्थानमा भवन निर्माणका लागि ठेक्का समेत लागिसकेको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । चिया प्रशोधनतर्फ रु.२० लाख बराबरको रकमबाट काम भइरहेको छ ।