पूर्वी तराईको झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो हो । धानको पीठोबाट बनाइने भक्का पोषिलो, स्वादिलो र आडिलो हुन्छ । अचेल यो परिकार पूर्वी तराईको लोकप्रिय बनिसकेको छ ।
पुस–माघको चिसो मौसममा राजवंशी महिला हुरहुरी बाफ उड्ने तातो खाजाका रुपमा भक्का बनाउने गर्दछन् । यसको स्वादले पहाडबाट बसाइँ सरेर आएका तराईका अरू समुदायलाई समेत आकर्षित गरेको छ । राजवंशी मात्र होइन, मेचे, धिमाल, ताजपुरिया र थारु महिला पनि भक्का बनाउँछन् ।
झापाको ग्रामीण बस्तीमा सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का पकाउने र बेच्ने गर्छन् ।सहरका गल्लीमा पनि भक्का पसल बढ्दै गएका छन् । ठूला तारे होटलदेखि साना चिया पसलमा खाजाका रुपमा भक्काको बजार दिनानुदिन बढ्दै गएको छ।
भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । चिया र अचारसँग खाँदा भक्का झनै स्वादिलो हुने स्थानीय आत्माराम राजवंशी बताउनुहुन्छ । माछासँग पनि भक्का खाने गरिएको उहाँले बताउनुभयो ।
सात वर्षदेखि हरेक वर्ष पुस २९ गते झापामा भक्का दिवस मनाउन थालिएको छ । भक्काको पहिचान स्थापित गर्न र पर्यटन प्रवद्र्धन गर्न दिवसको अवधारणा अघि सारिएको राजवंशी भाषा विकास समितिका अध्यक्ष अभय राजवंशीले बताउनुभयो ।