बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधवार साँझदेखि पुनः काठमाडौँमा पथान्तरण गरिएको छ ।
यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबिच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधवार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ,२७ किलोमिटर लामो सुरुङमा आधा जति पानी रहेकाले अबको चार दिनमा मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ।
करिब २८ दिनको कार्य योजनासहित पानी पथान्तरणको काम सुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उनले बताए ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ ।