कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजिनामा दिए पछि प्रदेश प्रमुख पर्शुराम खापुङ्ले नयाँ सरकार गठनका लागि ६ दिन या २६ गते सम्मको समय दिएर आह्वान गरेका छन्। शनिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले दिएको समयसीमाभित्र उपधारा ५ अनुसार सरकार गठन गर्न नसके प्रदेशसभा विघटन हुने निश्चित छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमत सदस्य ४७ सांसदको समर्थन लिएर जाने कुनै पनि सांसद मुख्यमन्त्री हुने संविधानमा व्यवस्था छ । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा आबद्ध गठबन्धन दलहरूले राप्रपा समेतसँग सहमति गरेर नयाँ सरकार निर्माणको कसरत गरिरहेका छन् तर मुख्यमन्त्री कुन दलको हुने र को हुने भन्ने विषयमा दलहरू अहिलेसम्म निर्णय गर्न सकेका छैनन् ।
यता नेकपा एमालेकाे सरकारलाई राप्रपाले असहयोग गर्यो भने एमालेबाटै उपसभामुख रहेको कारण कार्कीको पक्षमा ३९ मत मात्रै हुन्छ । प्रदेशसभा अहिलेसम्म सभामुख विहीन छ । उपसभामुख एमालेबाटै निर्वाचित सिर्जना दनुवार रहेकी छिन् ।
एमालेको कोशी प्रदेशमा यस अघिको गठबन्धन दल माआोवादी, नेकपा एस र जसपा संघको सम्बन्ध चिसिएको छ भने राप्रपा सग राम्रो सम्वन्ध छ तर राप्रपाको साथले मात्र सरकार बनाउ सक्दैन न र बहुमत पुग्दैन।
यता काँग्रेस, माओवादी, नेकपा (एस) र जसपासँगको गठबन्धन भएपनि आपसी द्वन्द्वका कारण मुख्यमन्त्री को बन्नेमा टकराव सुरु भएको छ। तर यो गठबन्धनले पनि राप्रपालाई साथै नलगेमा विश्वासको मत नपुग्ने स्पष्ट देखिएको छ। दोस्रो कार्यकालमा ठुलो दलको हिसाबले नेकपा एमालेका हिक्मतकुमार कार्की मुख्य मन्त्री बने भने, कोशी प्रदेशको नामाकरणको विषयलाइ लिएर समर्थन दलहरुले समर्थन फिर्ता लिएपछि कार्की सरकार अल्पमतमा परेको थियो।
९३ सदस्य रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सदस्य चाहिन्छ । कोशी प्रदेशमा एमालेको उपसभामुख सहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जनता समाजवादी पार्टीको १ सांसद रहेका छन् ।
कोशी प्रदेशको दोस्रो कार्यकालमा अब बन्ने मुख्यमन्त्री पाँचौँ मुख्यमन्त्री हुनेछन् । यसअघि कार्की १ पटक र काँग्रेस संसदीय दलका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री बनिसकेका छन् । पाँचौँ पटकमा बन्ने मुख्यमन्त्री को भन्ने विषय अहिले नै टुङ्गो लागिसकेको छैन ।अघिल्लो पटक असार २१ गते सभामुखसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका काँग्रेस नेता थापाको नियुक्ति प्रक्रिया सर्वोच्चले साउन ११ गते खारेज गरेको थियो । त्यसबेला मुख्य मन्त्री थापाले २२ दिन मात्र सरकार चलाएका थिए।
अदालतले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनको लागि बाटो खोलिदिएको थियो । सोही अनुसार थापा पुनः साउन १७ गते मुख्यमन्त्रीमा नियुक्त भए । तर, उनले भदौ ४ गते विवादास्पद ढंगले विश्वासको मत लिए र सर्वोच्चले पुनः भदौ २१ गते उनलाई बर्खास्त गरेको थियो ।
कोशी प्रदेशको पहिलो प्रदेशसभाबाट तीन जना मुख्यमन्त्रीमा पहिलो पटक एमालेका शेरधन राई, दोस्रो पटक एमालेकै भीम आचार्य र तेस्रो पटक नेकपा (एकीकृत समाजवादी)का राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए ।