विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न नेपाल सरकारसमक्ष सिफारिस गरेको छ।

गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा बिहीबार बसेको समितिको ३८औँ बैठकले ४८ जिल्लाबाट यकिन भई आएका ३ हजार ९१५ स्वदेशी नागरिकलाई मृत घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

त्यसैगरी, सातवटा विदेशी नियोगबाट प्राप्त विवरणअनुसार ६२३ जना विदेशी नागरिकलाई पनि मृत घोषणा गर्न सिफारिस गरिएको छ।

विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने व्यवस्था छ।

यसअघि स्वदेशी नागरिकका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो। विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट सूची माग गरिएको थियो। दाबी पेस गर्न प्राधिकरणले दुई चरणमा सातदिने सूचना पनि जारी गरेको थियो।

बैठकले ‘सबैका लागि पूर्वसूचना’ राष्ट्रिय मार्गचित्र २०८३–२०८७ पनि स्वीकृत गरेको छ। मार्गचित्रले २०८७ सालसम्म सबै समुदायमा बहुप्रकोप पूर्वसूचना प्रणाली विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालन गर्ने लक्ष्य लिएको छ।