मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी (बलात्कार) र कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बाबु छोरालाई पक्राउ गरेको छ।
कानेपोखरीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ससुरा नाताका ५५ वर्षीय पुरुषलाई पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। उनका अनुसार पीडित र पीडक दुवै एक घरका ससुरा बुहारी (आफ्नै छोराकी श्रीमती) हुन्।
कात्तिक २९ गते राति घरमै ससुराले बालिकालाई जबरजस्ती करणी गरको सूचना प्राप्त हुनासाथ ससुरालाई प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध जबरजस्ती करणी कसुरमा मंसिर १ गते अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए।
घटनाबारे सोधपुछ गर्ने क्रममा बालिकालाई कुटपिट गरेर भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने बालिकाका २३ वर्षीय श्रीमानलाई पनि प्रहरीले पक्राउ गरेको छ। बालिकाका श्रीमानले घटनालाई लिएर आमा (श्रीमानकी आमा तथा बालिकाकी सासुआमा)लाई छेउमा राखी पीडित बालिकालाई कुटपिट गर्दै सोधपुछ गरेका थिए। उनले कुटपिट गरेको उक्त भिडियो आफ्नै सामाजिक सञ्जालमा अपलोड गरेपछि घटना बाहिरिएको प्रहरीले जनाएको छ।
उक्त भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा सम्प्रेषण भएपछि प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। भिडियो सार्वजनिक गर्ने युवक लाई मंसिर ९ गते पक्राउ गरी इलाका प्रहरी कार्यालय पथरीमार्फत विद्युतीय अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको डीएसपी मिश्रले बताए।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।












