राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया तीव्र पारेको छ।
आवश्यक गृहकार्यपछि मन्त्रालयले संशोधन विधेयकको मस्यौदा तयार पारी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ भने कानुनी प्रक्रिया पूरा गरी छिट्टै संघीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको छ।
यसै सन्दर्भमा बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको नेतृत्वमा मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिहरूसँग विस्तृत छलफल भएको छ। यसअघि पनि मन्त्री मेहताको अगुवाइमा सरोकारवाला निकायहरूसँग चरणबद्ध परामर्श हुँदै आएको थियो।
प्रस्तावित संशोधन विधेयकमा बीमा कार्यक्रमको योगदान संकलन र सेवा भुक्तानी प्रणालीलाई पारदर्शी तथा व्यवस्थित बनाउने विषयलाई मुख्य प्राथमिकता दिइएको छ।
यसअन्तर्गत सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र आम नागरिकलाई बीमाको दायरामा अनिवार्य रूपमा समेट्ने तथा आर्थिक रूपमा योगदान गर्न नसक्ने विपन्न नागरिकको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेवारी राज्यले लिने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यसैगरी, स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायमार्फत प्रवाह भइरहेका स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने योजना अघि सारिएको छ।
सेवा प्रवाहलाई सहज बनाउने, आबद्ध स्वास्थ्य संस्थाको दायरा विस्तार गर्ने र अस्पतालहरूमा हुने अनावश्यक परीक्षण तथा अनुचित दाबी भुक्तानीलाई कडाइका साथ नियन्त्रण गर्ने विषय पनि विधेयकमा समेटिएका छन्।
स्वास्थ्य बीमा कार्यक्रमलाई केवल उपचार खर्चको व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूतिसँग जोड्ने लक्ष्य मन्त्रालयले लिएको छ।
आर्थिक अभावकै कारण कुनै पनि नागरिक आधारभूत तथा गुणस्तरीय उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी र नीतिगत सुधारलाई अघि बढाइएको मन्त्री मेहताले बताएकी छन्।












