पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। उनलाई भारतबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
मलेसिया कामदार पठाउने बहानामा श्रमसचिव हुँदा अवैध रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोप उनीमाथि लगाइएको छ।
अर्यालविरुद्ध केही दिनअघि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
यही प्रकरणमा यसअघि दुई जना पूर्वमन्त्रीसहित ६ जना पक्राउ परिसकेका छन्। उनीहरूमाथि मलेसियन सरकारसँग भएको सम्झौता विपरीत हुने गरी रकम संकलन गरी ठगेको आरोप छ।
यसअघि सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानून अधिकृत (उपसचिव) निर्मला गुरूङलाई पक्राउ गरिसकेको छ।












