नवलपुरको मध्य विन्दु नगरपालिका–११ अरुणखोलास्थित बाहुनीकुनामा जन्ती बोकेको बोलेरो जिप र ट्र्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए।

कावासोती नगरपालिका–१६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको लु २ च ८९९७ नम्बरको बोलेरो जिप र लु २ त २४१७ नम्बरको ट्र्याक्टर आपसमा ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ८ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ती मध्य अस्विन चौधरी र निर्मल चौधरीको अवस्था गम्भीर रहेको डिएसपी पण्डिते बताए।

दुर्घटनामा परि घाइते हुनेमा विनयी त्रिवेणी गाउँपालिका–४ का मिलन चौधरी, प्रिन्स विक, रविन चौधरी, रिजन चौधरी, गुलसन थापा, विशाल शर्मा, श्याम चौधरी, युवराज चौधरी र सुमेन्द्र चौधरी तथा मध्य विन्दु नगरपालिका–१० का आदेश आले रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।