कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले प्रदेशको खेलकुद क्षमता, पूर्वाधार र व्यवस्थापकीय दक्षताको परीक्षा लिइरहेको छ।
मंसिर ८ गतेदेखि विभिन्न खेल सुरु भइसकेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर १६ गते वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा औपचारिक गर्नेछन् प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ।
लामो प्रतीक्षापछि सुरु भएको प्रतियोगिता कर्णालीका लागि कला, संस्कृति, पर्यटन, पूर्वाधार र राष्ट्रियस्तरको आतिथ्य क्षमता देखाउने अवसर पनि हो।
तर घरेलु मैदानमा कर्णालीका खेलाडीको कमजोर सुरुआत, सबै खेल प्रदेशभित्र सञ्चालन गर्न नसकिनु र व्यवस्थापनका चुनौतीले आयोजक प्रदेशको ध्यान तानेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र गैरआवासीय नेपाली संघ ९एनआरएनए० गरी ११ टोली सहभागी छन्।
३२ खेलका ३८४ इभेन्टमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य गरी १,३३७ पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आयोजकका अनुसार करिब ७,२०० देखि ७,२६० खेलाडी सहभागी हुनेछन्।
खलाडीको आवास, आवागमन र खेलस्थल व्यवस्थापन सहज बनाउन राखेपले औपचारिक उद्घाटनअघि नै खेल सञ्चालन गर्ने निर्णय गरेको छ।
मंसिर ८ देखि पौडी, पुरुष फुटबल, महिला क्रिकेट र महिला बास्केटबलसहितका खेल सुरु भएका छन्। उद्घाटनअघि कुल १० खेलका प्रतिस्पर्धा गराउने तयारी छ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताका अनुसार ठूलो संख्याका खेलाडीलाई एकैपटक व्यवस्थापन गर्न कठिन हुने भएकाले प्रतियोगिता चरणबद्ध रूपमा चलाइएको हो। उद्घाटन अघि धेरै खेल सकिँदा खेलाडीको बसोबास र प्रशासनिक व्यवस्थापन सहज हुने उनको भनाइ छ।
पटकपटक मिति सरेको प्रतियोगिताको पछिल्लो मिति राखेपको १२५औँ बोर्ड बैठकले तोकेको थियो। यसपटक तोकिएकै समयमा प्रतियोगिता सुरु हुनुलाई आयोजकले ठूलो उपलब्धि मानेका छन्। राखेपले खरिद, खेलस्थल, प्राविधिक र प्रशासनिक तयारीका लागि विभिन्न समिति तथा उपसमिति गठन गरेको थियो।












