इजिप्टको एक मुख्य चक्रपथमा पेट्रोलियम पदार्थ बोकेको सवारीसाधन पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूले बुधबार घटनाको पुष्टि गरेका हुन्।
सरकारी अभियोजन कार्यालयका अनुसार गिजाको अल–वार्राक जिल्लास्थित सुरुङमार्गमाथि आगलागी भएको हो। प्रारम्भिक अनुमानअनुसार कार र मोटरसाइकलसहित २७ वटा सवारीसाधन जलेर नष्ट भएका छन्। हताहती र क्षतिको पूर्ण विवरण संकलन गर्ने काम जारी रहेको जनाइएको छ।
अभियोजन कार्यालयले पहिचान खुल्न नसकेका मृतकहरूको सनाखतका लागि शवबाट डीएनए नमुना संकलन गर्न आदेश दिएको छ। उद्धार कार्यमा ३९ वटा एम्बुलेन्स परिचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा घटनास्थलबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिएको छ।












