प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।

मंगलबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो।

ठेक्का रद्दबारे समितिमा उजुरी परेको थियो। उजुरीमा बोलपत्रका सबै प्रक्रिया पूरा भइसकेर आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको अवस्थामा अन्तिम समयमा ठेक्का रद्द गरिएको विषय छ।

ठेक्का रद्द गर्दा राज्यलाई आर्थिक क्षति हुने र आयोजना निर्माण थप ढिलाइ हुने उजुरीकर्ताको दाबी छ।

सुनकोसी–मरिण डाइभर्सन आयोजनाले बाँध, विद्युत्‌गृह तथा सम्बन्धित संरचना निर्माणका लागि गत जुन ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो।

सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको उक्त ठेक्कामा तीनवटा कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका थिए।

उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कात्तिक दोस्रो साता आयोजनाले बोलपत्र प्रक्रिया रद्द गरेको थियो।

आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को उपदफा (२) अनुसार ठेक्का प्रक्रिया रद्द गरिएको जनाएको थियो। तर, ठेक्का रद्द गर्नुको विस्तृत कारण भने सूचनामा खुलाइएको थिएन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने यसअघि ठेक्का प्रक्रिया प्रचलित ऐन तथा नियमावलीविपरीत भएको पाइएपछि रद्द गरिएको जनाएको थियो।