नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्। आफूविरुद्ध हुने अनुसन्धानमा सहयोग गर्ने बताउँदै उनले कानुनानुसार अनुसन्धान र कारबाही गर्न सरकारलाई आग्रह गरेका हुन्।
मंगलबार (मंसिर ८) पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले कांग्रेसले कुनै पनि अनुसन्धानमा अवरोध नगर्ने स्पष्ट पारे। आफू वा अरू जोसुकैविरुद्ध हुने अनुसन्धानमा पार्टीले अवरोध नगर्ने उनको भनाइ छ।
तर, राज्यका संयन्त्रलाई सत्ताको अनुकूलतामा प्रयोग नगर्न उनले सरकारलाई चेतावनी दिए। राज्यका निकाय सत्य र न्यायका पक्षमा उभिनुपर्ने उनले बताए।
“नेपाली कांग्रेस कसैको अनुसन्धानमा अवरोध गर्दैन, मेरो अनुसन्धान होस् वा अरू कसैको,” उनले भने।
सरकारका गलत कामको विरोध गर्नु आफ्नो राजनीतिक दायित्व भएको उनले उल्लेख गरे। उनले राजाको शासनकालदेखि नै आफूले राज्यका गलत कदमको विरोध गर्दै आएको स्मरण गरे।
उनले आफू विगतमा पनि धम्की र मुद्दाको सामना गरेर अघि बढेको बताए। राजाको शासनकालमा आफूले एक्लै राजद्रोहको मुद्दा खेपेको र माओवादी द्वन्द्वका क्रममा पनि निकै दुःख पाएको उनको भनाइ थियो।
कांग्रेस सहभागी केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारका गलत कामको समेत आफूले विरोध गरेको उनले सुनाए। थापाले व्यक्तिगत जीवनमै असर पर्ने गरी प्रश्न उठाउने र सामाजिक सञ्जालमार्फत भय सिर्जना गर्ने प्रयास भइरहेको टिप्पणी गरे।
“व्यक्तिगत जीवनमा समेत प्रश्नका कारण समस्या आएको छ। तर, प्रश्न गर्न सुरु गरेको थिएँ, अडियो आयो। पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनुहोला। प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,” उनले भने।
थापाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १५औँ महाधिवेशनपछि हालसम्म पाँचपटक भेट भएको जानकारी पनि दिए। प्रदेश सरकारको समीकरणका विषयमा ओलीसँग भेटघाट हुँदै आएको उनले बताए।
मधेस प्रदेश सरकारको समीकरणका विषयमा भने ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पुनः छलफल गर्नुपर्ने उनको भनाइ छ।












