कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले आज पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र पाकिस्तान ‘ए’बीचको खेल अपराह्न ३ः४५ बजे दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदैछ। पहिलो खेलमा भारतसँग ३०६ रनको फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई ६ विकेटले पराजित गरेको थियो।

उता, लगातार दुई जित निकाल्दै पाकिस्तान ‘ए’ एक खेलअगावै सेमिफाइनलमा पुगिसकेको छ। पाकिस्तानले पहिलो खेलमा युएई र दोस्रो खेलमा भारत ‘ए’लाई पराजित गरेको थियो।

इमर्जिङ कपमा नेपाल र पाकिस्तान ‘ए’बीच यसअघि सन् २०२३ मा एकपटक भेट भएको थियो। उक्त खेलमा नेपाल चार विकेटले पराजित भएको थियो। पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९ रनमा समेटिएको थियो। पाकिस्तानले ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर १८० रनको लक्ष्य पूरा गरेको थियो।

आजको खेलमा जित निकाल्दै नेपालसँग तीन वर्षअघिको हारको बदला लिने अवसर छ। जारी प्रतियोगिताको समूह ‘बी’मा नेपाल दुई अङ्कसहित तेस्रो स्थानमा छ भने पाकिस्तान ‘ए’ चार अङ्कसहित शीर्ष स्थानमा रहेको छ।