लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ।
डोल्माको नियुक्ति गैरकानूनी, विधि र प्रक्रियाविपरीत भएको भन्दै राष्ट्रिय जेनजी नागरिक अभियानका तर्फबाट मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको हो।
उक्त रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता डा. अशोक कुमार क्षेत्रीले पुष्टि गरे।
राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहसहित विरजन विश्वकर्मा र सफलता बोगटीका तर्फबाट रिट दायर भएको छ। रिटमा नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा गरिएको नियुक्तिको वैधानिकतामा प्रश्न उठाएको छ।
रिटमा आनि छोइङ डोल्माको नियुक्ति सार्वजनिक पदाधिकारीको नियुक्ति र योग्यतासम्बन्धी मापदण्ड २०७१ बमोजिमको योग्यता नपुगेको दाबी गरिएको छ। मन्त्रिपरिषद्ले गत असोज ३० गते आनि छोइङ डोल्लमालाई कोषको उपाध्यक्ष नियुक्त गरेको थियो। उनले मंसिर २ मा पदबहाली गरेकी थिइन्।












