धरानमा आठौँ मिस्टर कोशी प्रदेशस्तरीय खुला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ।

प्रतिभाशाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै शारीरिक सुगठन खेलको विकास र विस्तारमा योगदान पुर्‍याउने उद्देश्यले एलाइनेट जिम धरानले प्रतियोगिता आयोजना गर्न लागेको हो। फागुन २९ र ३० गते हुने प्रतियोगिताबारे आयोजकले आज धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ केजी तथा ७५ केजीभन्दा माथिका गरी ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पहिलो दिन प्रि–जजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा सञ्चालन गरिने एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूले बताए।

प्रत्येक तौल समूहमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीलाई ट्रफी, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। ओभरअलतर्फ प्रथम हुने खेलाडीले १ लाख २५ हजार, दोस्रोले ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाँचौँले २५ हजार र छैटौँले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने लिम्बूले बताए।

प्रतियोगितामा उत्कृष्ट पोजर, मस्कुलर म्यान, मोस्ट इम्प्रुभ्ड र उत्कृष्ट टिम विधाका विजेतालाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।