राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रोकिँदा मधेसमा आक्रोश बढ्ने बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा उनले आयोजना अलपत्र पार्ने नभई सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सरकारसँग माग गरेका छन्।
झाले सुनकोसी–मरिण डाइभर्सन मधेसका पाँच जिल्लाको कृषि र सिँचाइसँग जोडिएको महत्त्वपूर्ण आयोजना भएको बताए।
करिब ६ वर्षअघि सुरु भएको आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको केही भाग गरी एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको उनले उल्लेख गरे। आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत छ।
१३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु सन् २०२४ मे मै भइसके पनि बाँधलगायत संरचना निर्माणको काम अघि बढ्न नसकेको भन्दै झाले यसको कारणबारे स्पष्ट जवाफ माग गरे।
"यो नबढ्नुको कारण के हो, बदमासी के देखियो र आगामी वे फरवार्ड के हो ? यी तीनवटा कुरामा थप क्ल्यारिटी चाहिएको छ," उनले भने।
उनले आयोजना रद्ध भए मधेस आन्दोलित हुने धाारणा राखे।
"मधेशसँग देखाउनलाई न हिमाल छ, न हामीसँग हाइड्रो उत्पादन गर्न स्रोत छ। भएकै एउटा खेती हो, त्यसमा पनि तपाईंहरू यस्तो अल्झाएर राख्नुहुन्छ," झाले भने, "यो आयोजना रद्द भयो भने मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै पाटो हुँदैन।"
उनले सुनकोसीको पानी मरिण हुँदै मधेसमा पुर्याउने आयोजनाले खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्नुका साथै मधेशमा बढ्दो पानीको अभाव र मरुभूमीकरण रोक्न सहयोग पुग्ने बताए।












