दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ। वीरेन्द्रनगरस्थित क्रिकेट मैदानमा सोमबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमै समेटेको थियो। कोशीले निर्धारित इनिङ्स पूरा गर्नुअघि नै सबै विकेट गुमाएको थियो।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन्। ३६ बलको सामना गरेकी उनले एक छक्का र पाँच चौका प्रहार गरिन्। रुविना महलाले पाँच तथा सृजनाकुमारी राजवंशीले चार रन बनाउनु बाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्।

कोशीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी यमुना थारुले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले दुई ओभर मेडन राख्दै ६ रन मात्र खर्चिइन्। मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले एक–एक विकेट लिए।

६६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १३.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो। आर्मीका लागि ओपनर विन्दु रावलले सर्वाधिक २१ रन बनाइन्। २८ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्।

त्यस्तै रुबी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन्।

कोशीका कप्तान रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन्। उत्कृष्ट बलिङ प्रदर्शन गरेकी आर्मीकी यमुना थारु खेलको प्लेयर अफ द म्याच घोषित भइन्।

महिला क्रिकेटको उद्घाटन खेलमा जित निकाल्दै आर्मीले दशौँ राष्ट्रिय खेलकुदमा आफ्नो उपाधि यात्राको सुरुवात गरेको छ।