इलाममा मेडिकल कलेज अर्थात् स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न इलाम नगरपालिकाले पहल अघि बढाएको छ। प्रस्तावित प्रतिष्ठानको आधारपत्र तयार पारेको नगरपालिकाले मेयर केदार थापाको नेतृत्वमा काठमाडौंमा छलफल र लबिङ सुरु गरेको हो।
थापासहितको टोलीले सोमबार शिक्षामन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकार शैलेन्द्र झासँग भेटेर प्रतिष्ठान स्थापनाका लागि सहयोग मागेको छ। टोलीमा इलाम नगरपालिका–४, ६ र ७ का वडाध्यक्ष पनि सहभागी थिए।
नगरपालिकाको अध्ययनअनुसार प्रतिष्ठानका लागि करिब १ हजार ४ सय रोपनी जग्गा आवश्यक पर्नेछ। नगरपालिकाले जग्गा व्यवस्थापन, पूर्वाधार विकास र सेवा विस्तारसम्बन्धी आधारपत्र तयार गरेको जनाएको छ।
डा. गोविन्द केसीसँग गत कात्तिक २९ गते भएको सहमतिमा इलाममा मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गर्ने विषय समेटिएको थियो। सोही सहमतिपछि केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका थिए।












