सुनसरीको दुहबी नगरपालिकामा फोहोरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने भएको छ।
कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा भएको प्रतिबद्धताअनुरूप उक्त परियोजना सञ्चालन हुन लागेको हो। सोमबार आयोजित एक कार्यक्रमका क्रममा परियोजना सञ्चालनका लागि रिभाइभ इन्फ्रा टेक एन्ड इन्भेस्टमेन्ट लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
कार्यक्रममा मुख्यमन्त्री हिक्मत कार्कीले नीतिगत तथा कानुनी सुधार गर्दै प्रदेश सरकार लगानीमैत्री वातावरण निर्माणमा अघि बढिरहेको बताए। लगानीका दृष्टिकोणले प्रचुर सम्भावना बोकेको कोशी प्रदेशमा जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेको उनले उल्लेख गरे।
मुख्यमन्त्री कार्कीले वर्तमान अवस्थामा स्टन्टबाजी गरेर रमाउने र विभिन्न विषय उठाएर अलमलिने प्रवृत्तिबाट माथि उठ्दै यथार्थमा आधारित भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे।
त्यसैगरी, कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंकका अध्यक्ष महेशप्रसाद दाहालले बैंकले काम गर्ने क्षेत्र र अधिकारको विषयमा स्पष्ट पार्दै कोशी प्रदेशको पूर्वाधार विकासमा साझेदार बन्न बैंक तयार रहेको बताए।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्योग सञ्चालनका लागि ल्यान्ड पुलिङ गर्न सक्ने अवस्था नरहेको बताए। पछिल्लो समय जग्गा प्राप्तिको प्रक्रिया जटिल बन्दै गएको उनको भनाइ थियो। यसका कारण उद्योगधन्दा सञ्चालनमा कठिनाइ भइरहेको उनले उल्लेख गरे। कार्यक्रममा उनले उद्योग सञ्चालनका लागि सहज रूपमा जग्गा उपलब्ध गराउन सरकारले पहल गर्नुपर्नेमा जोड दिए।
दुहबी नगरपालिकामा निर्माण गरिने यस परियोजनाको कुल लागत ५६ करोड रुपैयाँ रहेको छ। प्रदेश सरकारले २०८१ साल वैशाख १८ र १९ गते आयोजना गरेको लगानी सम्मेलनमा ५१ वटा परियोजनाका लागि एक खर्ब ५६ अर्ब रुपैयाँ बराबरको लगानीसम्बन्धी समझदारी भएको थियो। सोही समझदारीअनुसार निजी क्षेत्रबाट मात्रै सञ्चालन हुने कतिपय परियोजना सुरु भइसकेका छन्।












