प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्या रेल सेवाको शुभारम्भ गरेका छन्।
प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा सोमबार दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा हरियो झण्डा हल्लाएर उक्त रेल सेवाको उद्घाटन गरेका हुन्।
रामायण परम्परासँग जोडिएका नेपाल र भारतका दुई प्रमुख धार्मिक स्थल जनकपुरधाम र अयोध्यालाई सिधा रेल सेवामार्फत जोडिएको हो। यो सेवाले दुवै देशका धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ। नयाँ रेल सेवा सातामा एक दिन सञ्चालन हुनेछ।
निर्धारित समयअनुसार भारतको अयोध्या क्यान्ट स्टेसनबाट प्रत्येक सोमबार साँझ ५:५० मा रेल छुट्नेछ। उक्त रेल नेपाली समयअनुसार मंगलबार दिउँसो १२:४० मा जनकपुरधाम पुग्नेछ।
त्यस्तै, जनकपुरधामबाट प्रत्येक शनिबार दिउँसो १:१० मा रेल अयोध्याका लागि प्रस्थान गर्नेछ। रेल आइतबार बिहान ८:१० मा अयोध्या पुग्ने तालिका छ।
यसअघि गत नोभेम्बर ५ मा उक्त रेल सेवाको परीक्षण गरिएको थियो।
प्रधानमन्त्री बालेन दुईदिने राजकीय भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका हुन्। भ्रमणका क्रममा सोमबार नै भारतीय प्रधानमन्त्री मोदीसँग उनको द्विपक्षीय भेटवार्ता भएको थियो।












