राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चय र अनिश्चितताका कालो बादलहरू मडारिइरहेको भन्दै यस्तो समयमा मुलुकलाई निकास दिने एकमात्र शक्ति राप्रपा भएको जिकिर गरेका छन्। 

नेपाल सनातन धर्म संस्कृति सङ्गठनको काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मुलुकका अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइसकेकाले राप्रपाले नै देशको नेतृत्व लिनुपर्ने दाबी गरेका हुन्।

अध्यक्ष लिङ्देनले परम्परागत कार्यशैलीबाट पार्टीलाई बलियो बनाउन नसकिने स्पष्ट पार्दै नेतृत्वदेखि कार्यकर्तासम्म सबै बदलिन जरुरी रहेको बताएका छन्। मुलुकमा विद्यमान चुनौतीको सामना गर्न र पार्टीलाई देशको नेतृत्व गर्नसक्ने शक्तिका रूपमा तयार पार्न आगामी महाधिवेशनमार्फत सङ्गठनको पुनःगठन गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

पार्टी सङ्गठन विस्तार नगरी सीमित कार्यकर्तामा मात्रै केन्द्रित भएर राप्रपा ठुलो बन्न नसक्ने उल्लेख गर्दै उनले पार्टीमा सबैका लागि ढोका खुला गर्नुपर्ने बताए। राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको मुख्य एजेण्डा स्थापित गर्नका लागि पनि सङ्गठन विस्तार र प्रभावकारी राजनीतिक गतिविधि आवश्यक रहेको उनको भनाइ छ।

राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘नेपालको राजनीति एउटा अँध्यारो सुरुङमा प्रवेश गरेको छ, सबै राजनीतिक दलहरू असफलताको बाटोतर्फ गइरहेका बेला देशलाई निकास र दृष्टि दिने कुनै शक्ति जीवित छ भने त्यो राप्रपा हो’। हामी अहिले जति छौँ त्यति मान्छे मिलेर मात्रै राप्रपा ठुलो हुन नसक्ने भन्दै उनले आम मानिसको पार्टीका रूपमा राप्रपालाई विकसित नगरेसम्म आफ्ना आदर्शहरू स्थापित गर्न नसकिने बताए।

आसन्न महाधिवेशनलाई पार्टी पुनर्गठनको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै लिङ्देनले नयाँ ढङ्गले अघि बढ्न र महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।