जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कुटनीतिक माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताएकी छन्।

मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत जोशीले भौगोलिक अवस्थितिका कारण जर्मनी विश्वको तेस्रो अर्थतन्त्र र युरोपेली युनियनको एक प्रभावशाली शक्ति भए पनि नेपाल र जर्मनीबीचको व्यापार ठूलो परिमाणमा नरहेको उल्लेख गर्दै कुटनीतिक माध्यमबाट दुई देशबीचको आर्थिक सम्बन्ध विस्तार गर्न आफूले प्रयास गर्ने बताएका हुन्।

जर्मनीमा निर्यात बढाउनका लागि नयाँ माध्यम खोल्नु पर्ने र यसमा सुरुदेखि नै ध्यान दिने योजना रहेको उनले बताइन्। उनले पर्यटन क्षेत्रलाई बढावा दिन र विविधीकरण गर्न वेलनेस पर्यटन,ग्रिन पर्यटन र साहसिक पर्यटन जस्ता विषयहरूमा ध्यान दिनुपर्ने धारणा राखिन्। यसका लागि जर्मनीको टुर अपरेटर र नेपालको पर्यटन बोर्डबीच सहकार्य गरेर रणनीति बनाउनुपर्नेमा उनले जोड दिइन्।

त्यस्तै, जोशीले जर्मनीका सञ्चारकर्मी,इन्फ्लुएन्सर,ब्लगर तथा सगरमाथा चढेका व्यक्तिहरूलाई बोलाएर डिजिटल प्रचारप्रसार गरेर पर्यटक भित्राउन सकिने योजना रहेको बताइन्।