कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले तीन तहका सरकारबीचको सम्बन्धलाई बलियो र प्रगाढ बनाएर मात्रै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताएका छन्। उनले संविधानको पूर्ण कार्यान्वयन गर्दै प्रदेशका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
विराटनगरमा आज (मंगलबार) सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै सभामुख विष्टले प्रदेशलाई बलियो बनाउन प्रदेशसभाको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए।
प्रदेश सरकारलाई प्रभावकारी बनाउन प्रदेशसभालाई कमजोर राख्न नहुने उनको भनाइ थियो। उनले प्रदेश सरकारले गरेका कामको निगरानी गर्ने, आवश्यक सुझाव दिने र सरकारलाई जवाफदेही बनाउने जिम्मेवारी प्रदेशसभाको भएको उल्लेख गरे। त्यसका लागि प्रदेशसभाका समितिहरूलाई सक्षम र प्रभावकारी बनाउनुपर्ने उनले बताए।
संघीयता कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान, प्रदेशका संवैधानिक अधिकारको सुनिश्चितता र संघ–प्रदेशबीचको समन्वय सम्मेलनका प्रमुख विषय हुन्। कोशी प्रदेश सरकारको आयोजनामा सुरु भएको दुईदिने सम्मेलनमा विभिन्न प्रदेशका मुख्यमन्त्री तथा प्रदेशका उच्च अधिकारीहरू सहभागी छन्।
सम्मेलनमा प्रशासनिक जटिलता, वित्तीय संघीयता, स्रोतसाधनको बाँडफाँट र संघ तथा प्रदेशबीच अधिकारको प्रयोगमा देखिएका समस्याबारे छलफल हुँदैछ। प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गरी समाधानका उपाय खोज्ने र संघीय सरकारसँग साझा धारणा राख्ने सम्मेलनको उद्देश्य छ।
त्यसैगरी, प्रदेशहरूबीच समन्वय बढाउने, कानुन निर्माणमा एकरूपता कायम गर्ने र एकअर्काका सफल अभ्यास आदानप्रदान गर्ने विषय पनि छलफलमा समेटिएका छन्। सम्मेलनको निष्कर्षका रूपमा ‘विराटनगर घोषणापत्र’ जारी गर्ने तयारी छ। घोषणापत्रमा प्रदेशका साझा माग, अधिकार र संघीयतालाई प्रभावकारी बनाउने विषय समेटिने अपेक्षा गरिएको छ।












