एक विवादास्पद अडियो सार्वजनिक गरिएपछि रास्वपा सांसद खगेन्द्र सुनारले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

मंगलबार बिहान फेसबुकमार्फत एक भिडियो जारी गर्दै उनले आफूविरुद्ध नियोजित रूपमा चरित्रहत्या गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन्।

संसद्को सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीभित्रको अनियमितता र भ्रष्टाचारविरुद्ध प्रश्न उठाएका कारण आफूलाई विभिन्न आरोप लगाएर घेराबन्दी गरिएको सुनारको जिकिर छ। प्रहरीभित्रको बदमासीविरुद्ध आवाज उठाएदेखि नै प्रहरी नेतृत्वले धम्क्याउने काम गरेको उनले गम्भीर आरोप लगाएका छन्।

सोमबार सार्वजनिक भएको विवादित अडियोबारे स्पष्टीकरण दिँदै सांसद सुनारले उक्त अडियो आफ्नो नभएको र कुनै काल्पनिक पात्र खडा गरी प्रविधि वा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगमार्फत जोडेर प्रचार गरिएको दाबी गरेका छन्।

कसैले मुद्दा नहालेपछि मिडिया र सामाजिक सञ्जालको दुरुपयोग गरी आफू र अन्य व्यक्तिको चरित्रहत्या गर्ने खेल रचिएको उनको जिकिर छ। आफू कुनै पनि अनुसन्धानबाट नभाग्ने स्पष्ट पार्दै सुनारले पार्टी, संसद् र राज्य संयन्त्रबाट हुने निष्पक्ष छानबिनलाई सघाउन तयार रहेको बताएका छन्।

यदि आफूले कानुन र नैतिकताविपरीत कुनै गल्ती वा अपराध गरेको ठहरिएमा पार्टीको केन्द्रीय समिति तथा सांसद पदबाट निलम्बित हुन मात्र नभई हत्कडी लगाएर जस्तोसुकै कानुनी सजाय भोग्न पनि तयार रहेको उनले बताएका छन्।