उदयपुरको छुट्टाछुट्टै दुई स्थानबाट १ हजार ९९ किलो ८४० ग्राम गाँजा बोकेको २ वटा पिकअप गाडीसहित ओसार पसारमा संलग्न १ जनालाई पक्राउ गरिएको छ।

असोज २६ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-१ चारघरे स्थितमा संकित अवस्थामा सडक छेउमा रोकी राखेको बा. १४ च २२५५ नम्बरको बोलेरो पिकअप गाडीको डालामा २९ वटा बोरामा प्याकगरी राखेको अवस्थामा ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको थियो।

त्यसैगरी, बेलका नगरपालिका-५ देउराली स्थितमा प्रहरी चौकी लालबजारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र.१-०२-००२ च ५२९० नम्बरको पिकअप गाडीमा धानको भुसको बोरामा लुकाई छिपाई राखेको १ सय ५९ किलो ४०० ग्राम गाँजा सहित चालक सप्तरी सप्तकोशी नगरपालिका-८ का २८ वर्षिय पशुपति साफीलाई पक्राउ गरेको छ। ओसार पसारमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास भईरहेको छ।

२६ ग्राम १७० मिलिग्राम ब्राउन सुगरसहित १ जना पक्राउ

झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ दुर्गा मन्दिर स्थितबाट अर्जुनधारा नगरपालिका-११ का २७ वर्षिय अनिश माझीलाई २६ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ। ब्राउन सुगर सहित पक्राउ परेका माझीको थप अनुसन्धान भईरहेको छ।

बिभिन्न मुद्दाका ७ जना फरार प्रतिवादीहरु पक्राउ

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ७ जना प्रतिवादीहरुलाई प्रहरीले खोजतलासको क्रममा फेला पारी पक्राउ गरेको छ। अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न चाडपर्व लक्षित विशेष सुरक्षा योजना अनुसार परिचालन भएको प्रहरी टोलीले खोजतलासको क्रममा असोज २६ गते मोरङबाट ६ जना र उदयपुरबाट १ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुबाट ६ महिना १५ दिन कैद सजाय र १८ हजार रुपैँया जरिवाना वापतको रकम असुल उपर भएको छ भने उनीहरुलाई कैद भुक्तानको लागी कारागार पठाईएको छ।