नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।

पार्टीको स्थायी कमिटीको प्रथम बैठकले राष्ट्रिय भेला आयोजनाबारे गरेको निर्णय कार्यान्वयनका क्रममा भेलाको मिति र स्थान तय भएको एमाले सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले जानकारी दिए।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २५ गतेसम्म भएको स्थायी कमिटीको प्रथम बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीको अधिवेशन र राष्ट्रिय कार्यकर्ता भेला आयोजनालगायतका निर्णय गरेको थियो।

राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहने सङ्गठन विभाग प्रमुख ढकालले जानकारी दिए।