मोरङको ग्रामथान-६ स्थित भरचोलगढीमा जारी तेस्रो मन्जिल स्मृति रानिगढी रनिङ कप फुटबल प्रतियोगितामा ब्ल्याक डायमण्ड एफसी ग्रामथान फाइनलमा प्रवेश गरेको छ।
भरचोल खेलमैदानमा बिहीवार सम्पन्न दोस्रो सेमिफाइनलमा पिके एफसी बाहुनीलाई २-१ गोल अन्तरले पराजित गर्दै ब्ल्याक डायमण्ड उपाधि नजिक पुगेको हो।
ब्ल्याक डायमण्ड एफसीको जितमा हरि खवास र सिजल राईले समान १-१ गोल गरे। पिके एफसीका लागि एक मात्र गोल गोबिन लिम्बूले गरे।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका ब्ल्याक डायमण्ड एफसीका हरि खवास घोषित भए। उनले नगद एक हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
ब्ल्याक डायमण्ड एफसीले उपाधिका लागि आयोजक मन्जिल रानीगढी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। आयोजकले बुधबार भएको पहिलो सेमिफाइनलमा खुकुरी एफसीलाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
मन्जिल रानिगढी क्लबको आयोजनामा जारी प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल असोज २६ गते सोमबार हुनेछ।
क्लबका अध्यक्ष कृष्ण कुमार मण्डलका अनुसार प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।












