बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। पाटेकरको बिहीबार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो।
मणिपाल अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करले उनको निधनको पुष्टि गरेका छन्। हृदयघात भएपछि चिकित्सकले ४५ मिनेटसम्म कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गरेका थिए। तर, सीपीआरका क्रममा उनको मुटुको विद्युतीय गतिविधि (असिस्टोल) फर्कन सकेन।
पाटेकरको मृत्युको मेडिकल–लिगल प्रक्रिया (एमएलसी) पूरा भइसकेको र पोस्टमार्टम गर्नुपर्ने चिकित्सकले बताएका छन्। सन् १९७८ मा ‘गमन’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका पाटेकरले हिन्दी तथा मराठी चलचित्रमा आफ्नो अलग पहिचान बनाएका थिए। ‘परिन्दा’, ‘प्रहार’, ‘अंगार’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा उनको अभिनय चर्चित छ।
पछिल्लो समय पनि उनी चलचित्रमा सक्रिय थिए। उनी अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुखलगायतको अभिनय रहेको ‘हाउसफुल ५’ मा देखिएका थिए। त्यस्तै, विशाल भारद्वाज निर्देशित ‘ओ’रोमियो’मा शाहिद कपुर र तृप्ति डिमरीसँगै उनले प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका थिए। अनिल कपुर र राधिका मदान अभिनीत ‘सुबेदार’मा पनि उनको विशेष उपस्थिति रहेको थियो।












