नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसकेको बताएका छन्। नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा प्रचण्डले वामपन्थी र देशभक्तहरूसँगको सहकार्यबारे छलफल भइरहेको बताएका हुन्।

‘नेकपा एमाले र मसालसँग समन्वय गरेर जाने त समझदारी नै गरिसकेका छौं,’ उनले भने, ‘अन्य देशभक्त र वामपन्थीहरूसँग पनि छलफल निरन्तर गरिरहेका छौं।’

त्यस्तै, उनले अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्य महसुस गरेर सोहीअनुसार पहल गरिरहेको पनि सुनाए। उनले निर्वाचनपछि पनि जनजीवन सहज नबनेको बताए।

संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त अधिकारहरूमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकजुट भएर अघि बढ्नुपर्ने अवस्था आएको उनले सुनाए।