नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवाको उल्लेख्य सहभागिता देखिएको छ। महाधिवेशनमा सहभागी युवाहरूले ‘जेन्जी’ पुस्ताका युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मात्रै आबद्ध छन् भन्ने बुझाइ गलत भएको बताएका छन्। उनीहरूले आगामी दिनमा ठूलो संख्यामा युवा नेपाली कांग्रेसतर्फ आकर्षित हुने दाबी गर्दै केही समयमै मुलुक कांग्रेसमय बन्ने बताएका छन्।

महाधिवेशनमा सहभागी हुन पूर्वदेखि पश्चिमसम्मका नेता, कार्यकर्ता तथा समर्थक काठमाडौंमा भेला भएका छन्। विभिन्न जिल्लाबाट आएका कांग्रेस कार्यकर्ता खुलामञ्चमा आपसमा भेटघाट गर्दै राजनीतिक विषयमा छलफल तथा बहसमा व्यस्त देखिएका छन्।

महाधिवेशनस्थलमा पार्टीको आगामी नेतृत्व, नीति तथा राजनीतिक भविष्यबारे कार्यकर्ताबीच छलफल भइरहेको छ। लामो समयपछि एकै ठाउँमा भेला भएका नेता तथा कार्यकर्ताबीच आपसी भेटघाट र कुराकानीले महाधिवेशनस्थलमा उत्साहपूर्ण वातावरण देखिएको छ।

महाधिवेशनमा युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता देखिएको छ। अपाङ्गता भएका व्यक्तिहरूको समेत सहभागिता रहेको छ। खुला आकाशमुनि चर्को घामका बाबजुद उनीहरू महाधिवेशनमा उत्साहपूर्वक सहभागी भइरहेका छन्।

पार्टी नेतृत्व चयन, आगामी राजनीतिक दिशा र कांग्रेसको भूमिकालाई लिएर सहभागीहरूबीच चासो देखिएको छ। विशेषगरी युवा प्रतिनिधि तथा समर्थकहरू कांग्रेसभित्र पुस्तान्तरण, नेतृत्व र नयाँ राजनीतिक एजेन्डाबारे छलफलमा केन्द्रित देखिन्छन्।