सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा छाडिएको एक एम्बुलेन्सबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरी चौकी तरहराबाट खटिएको टोलीले असोज ६ गते मङ्गलबार राति ११ः१५ बजे तरहरा पानीपिया जङ्गलको ४ नम्बर ट्याङ्कस्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा रहेको बा २ च ९५७३ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिएको हो।
‘त्रिवेणी सांस्कृतिक समूह’ लेखिएको उक्त एम्बुलेन्स जाँच गर्दा प्लाष्टिकको पोका बनाएर राखिएको ४ सय ५० किलोग्राम लागू औषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन्।












