नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा बढ्ने विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि तयारी थालेको छ। यसका लागि प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ।

मंगलबार प्राधिकरणमा बसेको बैठकले हिउँदको विद्युत् माग तथा आपूर्ति व्यवस्थापनका लागि आवश्यक अध्ययन र काम अघि बढाउने निर्णय गरेको हो। रसुवा हुँदै त्रिशूली नदीमा आएको बाढीबाट जलविद्युत् आयोजनामा क्षति पुगेर उत्पादन बन्द भएपछि हिउँदको आपूर्ति व्यवस्थापनका लागि तयारी अघि बढाइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बागमती प्रादेशिक कार्यालयका निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई दैनिक कार्यप्रगति कार्यकारी निर्देशकसमक्ष पेस गर्न र कार्यान्वयनका क्रममा देखिएका समस्या तत्काल जानकारी गराउन निर्देशन दिइएको छ।

बैठकमा कार्यकारी निर्देशक श्रेष्ठले त्रिशूली नदी बेसिनका विद्युत् केन्द्रबाट उत्पादन बन्द हुँदा आपूर्ति व्यवस्थापनमा चाप परेको भए पनि आगामी हिउँदमा लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताए। उनले विद्युत् आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी समयमै अघि बढाउन निर्देशन दिए। बैठकले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा निर्माणाधीन प्रसारण र वितरणतर्फका आयोजनाको काम तोकिएको समयभित्र सम्पन्न गर्ने निर्णयसमेत गरेको छ।

यस्तै, बाढी प्रभावित नुवाकोट र रसुवामा विद्युत् आपूर्ति भरपर्दो बनाउन विभिन्न विकल्पमा अध्ययन गरी प्रक्रिया अघि बढाउने निर्णय भएको छ। बाढीबाट क्षति पुगेको देवीघाट सबस्टेसन पुनः सञ्चालनमा ल्याउने सम्भावनाबारे स्थलगत अध्ययन गर्न टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।