नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सांगठनिक प्रक्रिया आगामी असोज ४ गतेदेखि सुरु हुने कार्यतालिका सार्वजनिक भएसँगै देशभर चुनावी सरगर्मी बढेको छ। यसैक्रममा मोरङको बेलबारी नगरपालिकामा नगर सभापतिका लागि बौद्धिक एवं युवा नेता राजेश खत्रीले आफ्नो उम्मेदवारी दिने निश्चित भएको छ।
राजनीतिक र सामाजिक पृष्ठभूमि
नेपाल विद्यार्थी संघको जिल्ला सदस्य र सुकुना बहुमुखी क्याम्पस इकाइको उपसभापति हुँदै विद्यार्थी राजनीतिबाट उदाएका खत्री वैचारिक रूपमा पनि प्रखर मानिन्छन्। उनी बिपी अध्ययन प्रतिष्ठान मोरङ क्षेत्र नम्बर ३ का सभापति समेत हुन्। राजनीतिक सक्रियताका साथै सामाजिक क्षेत्रमा पनि उनको बलियो उपस्थिति छ। सन् २०२० मा बेलबारी जेसिजको अध्यक्षका रूपमा उनले पुर्याएको योगदानलाई स्थानीय स्तरमा उच्च मूल्यांकन गरिन्छ।
बौद्धिक नेतृत्वको खोजी
काठमाडौं विश्वविद्यालयबाट 'एमफिल' (M.Phil) गरेका खत्री राजनीतिलाई केवल शक्ति आर्जनको माध्यम मात्र नभई समाज रूपान्तरणको शास्त्रका रूपमा बुझ्ने थोरै नेताहरूमध्ये पर्छन्। शिक्षण र समाजसेवामा लामो अनुभव सँगालेका उनले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने धारणा राख्दै आएका छन्।कांग्रेसका स्थानीय नेताहरूका अनुसार, पछिल्लो समय बदलिएको राजनीतिक परिवेश र 'जेन-जी' (Gen-Z) भनिने नयाँ पुस्ताको भावनालाई बुझ्न सक्ने नेतृत्वको आवश्यकता छ। खत्रीको आगमनले युवा पुस्ता र अनुभवी पुराना नेताहरूबीचको पुलको काम गर्ने अपेक्षा गरिएको छ।
खत्रीको प्रतिवद्धता
आफ्नो उम्मेदवारीका बारेमा खत्री भन्छन्, "पार्टीभित्र सबै वर्ग, भूगोल र पुस्ताको अस्तित्व र भूमिकाको उचित मूल्यांकन गर्न मेरो उम्मेदवारी हो। बदलिएको समय र युवा पुस्ताको मागलाई सम्बोधन गर्दै कांग्रेसलाई बेलबारीमा थप सुदृढ र जुझारु बनाउने मेरो मुख्य लक्ष्य रहनेछ।"बौद्धिक व्यक्तित्वको छवि बनाएका खत्रीको नेतृत्वले पार्टीमा विधि, पद्धति र विचारको राजनीति स्थापित हुनेमा बेलबारीका आम कार्यकर्ताहरू विश्वस्त देखिएका छन्।












