नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विभाजन र गुटबन्दीप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन आह्वान गरेका छन्। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. कोइरालाले कांग्रेसको आसन्न महाधिवेशन र मुलुकको वर्तमान अवस्थाबारे चिन्ता प्रकट गरेका हुन्।
विज्ञप्तिमा डा. कोइरालाले लेखेका छन्, ‘नेपाली कांग्रेस आज आफ्नो विरासत र आदर्शबाट विचलित हुँदै गएको छ। हामी न अजेय छौं, न त विजयी नै। हामी विभाजित र गन्तव्य हराएको माझीझैं भएका छौं।’ उनले पार्टीका संस्थापक नेता बीपी कोइरालाको राजनीतिक र नैतिक दर्शनलाई आत्मसात् गर्दै पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिएका छन्।
रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा प्राकृतिक प्रकोपका कारण नागरिकले भोगिरहेको पीडाप्रति पार्टी गम्भीर नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। ‘नेपाली जनता रोइरहेका छन्, परिवारका सदस्य गुमाएका छन्। उनीहरूको पीडाको मल्हम बन्नुपर्ने कांग्रेस किन कानुन र विधानका धारामा अल्झिएर मानवीय संवेदनासँग खेलबाड गर्दैछ ?’ उनले प्रश्न गरेका छन्।
पार्टीको आसन्न दुईवटा महाधिवेशनले देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पार्न सक्ने नकारात्मक असरप्रति सचेत रहन उनले आग्रह गरेका छन्। ‘यो विभाजनलाई रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं,’ उनले लेखेका छन्।
कसैलाई हराएर वा अपमानित गरेर जित्ने उत्सव मनाउनु कांग्रेसको संस्कार र संस्कृति नभएको उनको टिप्पणी छ। आफू कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न चाहने एक कांग्रेस सिपाही भएको उल्लेख गर्दै उनले एकताको अभियानमा लाग्न सम्पूर्ण कार्यकर्तालाई आह्वान गरेका छन्।
‘म कसैप्रति आरोपप्रत्यारोप गर्न चाहन्न। हामी उठ्छौं, जुट्छौं र जित्छौं। यही भरोसा र विश्वासका साथ पार्टी एकता अभियानमा जुट्न गाउँदेखि विदेशसम्मका साथीहरूलाई हार्दिक अनुरोध गर्दछु,’ डा. कोइरालाले लेखेका छन्।
आफूले निरन्तर संवाद र एकताको प्रयास जारी राख्ने बताउँदै डा। कोइरालाले छिट्टै पार्टीका साथीहरूसँग भेट्न गाउँघर आउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।












