धरानबाट राउन्ड हवाई फायर गरी दुई क्विन्टल गाँजासहित ५ जना पक्राउ
सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियो गाडीमा लोड गरिएको दुई क्विन्टल नौ किलो ४२० ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीलाई देखेपछि गाँजा बोकेका गाडी लिएर भाग्न खोजेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहार प्रान्त मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीसहित गाँजा बरामद गरेको छ।
पक्राउ परेका पाँचै जनालाई बरामद गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा पठाइएको सूचना अधिकारी खड्काले बताए।












