नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेश सरकार गठनबारे दलहरूबीच सघन संवाद भइरहेको बताएका छन्।

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेश प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास पुगेका संयोजक प्रचण्डले सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरूबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे।

‘हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेश सरकारको स्थायित्वका लागि सघन छलफलमा छौं, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौं’, उनले भने। 

प्रचण्डले लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिहेको बताए।

‘यो अभियान मुख्यतः हाम्रो दलको आन्तरिक साङ्गठनिक काम व्यवस्थित गर्ने सवालमा केन्द्रित छ’, उनले भने, ‘यसै अभियानको धरातलबाट हामी लोकतान्त्रिक गणतन्त्र पक्षधरबीचको सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्नेछौं।’

यसैबीच, नेकपाले राष्ट्रिय जागरण अभियानअन्तर्गतको मधेश प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम बर्दिबासमा सोमबार आयोजना गरेको छ।

कार्यक्रममा मधेशभरिका पार्टीका केन्द्रीय सदस्य, मधेश प्रदेश कमिटीका पदाधिकारी र जिल्ला अध्यक्ष र संयोजक सहभागी हुने उक्त दलका मधेश प्रदेश इञ्चार्ज राजु खड्काले जानकारी दिए। 

यस कार्यक्रममा सो दलका सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी रहने जनाइएको छ।