नेपाली कांग्रेसले पत्रकार पक्राउ तथा धरपकडलगायत सरकारका विवादित गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ। 

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार धरपकडसहित पछिल्ला सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको निष्कर्ष निकाल्दै विशेष समिति गठनको माग गर्ने निर्णय गरेको हो।

बैठकपछि संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार पक्राउ र समाचार कक्षमै प्रहरी परिचालन गरिएको घटनाप्रति आपत्ति जनाए। पक्राउको स्पष्ट कानुनी आधार, पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी सञ्चारमाध्यममा प्रहरी परिचालन गर्नु स्वतन्त्र पत्रकारितामाथिको दबाब र विधिको शासनविपरीत भएको उनको भनाइ छ।

‘पत्रकार धरपकडलगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ। दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ। यसका लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ,’ आङ्देम्बेले भने। 

कांग्रेस संसदीय दलले पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक निकायको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको ठहर गरेको छ। आङ्देम्बेले जनसरोकार र सुशासनका विषयमा सरकारले गर्ने सकारात्मक काममा कांग्रेसको समर्थन रहने तर लोकतान्त्रिक मूल्य, शक्ति पृथकीकरण र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भए प्रतिवाद गर्ने स्पष्ट पारे। उनले न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्नेमा जोड दिँदै सरकारले आफूले गरेका कामको जवाफ दिनु नपर्ने मानसिकताका साथ गतिविधि गरिरहेको आरोपसमेत लगाए। 

कांग्रेसको बुझाइमा सरकारका पछिल्ला गतिविधि मुलुकको संवैधानिक संरचनालाई कमजोर पार्दै आफूअनुकूल शासन व्यवस्था स्थापित गर्ने सुनियोजित प्रयासको शृङ्खलाका रूपमा देखिएका छन्।