नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौँ कप्तान करण केसीले टस जितेर पहिला बलिङ रोजेकोपछि कर्णालीले सुरुमा ब्याटिङ गरेको हो।

कर्णालीले ६ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १८० रन बनाएको हो।

कर्णालीका लागि ओपनर आरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । २२ बलको सामना गर्दा उनले पाँच चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी हसन तलातले ३० बलमा ४० रन बनाउँदा पवन सरार्फले नटआउट ३० रन बनाए।

त्यसैगरी कर्णालीका लागि गुल्सन झाले १२ बलमा दुई छक्काको मद्दतमा २० रन जोडे भने मार्क वाटले २० बल खेलेर १७ रन बनाए। आजको खेलमा दिपक डुम्रे भने ८ रन बनाउँदा आउट भएका थिए। कप्तान सोमपाल कामी दुई बलको सामना गर्दा १ रनमा सीमित भए।

कर्णालीलाई सस्तैमा रोक्न काठमाडौँका कप्तान करण केसीले दुई विकेट हात पार्दा साहब आलम, जहानदाद खान, देव साह र सन्तोष यादवले एकएक विकेट हात पारे।

अब केही बेरमा काठमाडौँले जवाफी ब्याटिङ गर्नेछ। कर्णाली यसअघिका दुई खेलमा जित निकाल्दै चार अंक जोडेर शीर्ष स्थानमा कायम छ भने पहिलो खेलमा पराजित काठमाडौँ अंकबिहीन छ।